logo

मंगलबार, कार्तिक ४ २०८३

gorkhaonlinetv

२०८३ कार्तिक ४ मंगलबार

१४ वर्षीया मञ्जली तामाङको ‘दनदनि’, अभिनयसँगै गायनमा पनि अब्बल

१४ वर्षीया मञ्जली तामाङको ‘दनदनि’, अभिनयसँगै गायनमा पनि अब्बल


  • शनिबार, असोज ३ २०८३

  • काठमाडौं । उमेरले भर्खरै १४ वर्ष पुगेकी मञ्जली तामाङ नेपाली कला क्षेत्रमा बाल कलाकारका रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन्। ६ वर्षको कलिलो उमेरदेखि कलाकारिताको यात्रा सुरु गरेकी मञ्जली अहिले अभिनयसँगै गायन क्षेत्रमा समेत सक्रिय छिन्।

    मञ्जलीले आफ्नो अभिनय यात्रा म्युजिक भिडियोबाट सुरु गरेकी हुन्। उनको पहिलो म्युजिक भिडियो ‘सही हो माया सही हो’ थियो। सानै उमेरदेखि नृत्य, अभिनय तथा गायनमा रुचि राख्ने उनले विद्यालयमा आयोजना हुने विभिन्न नृत्य, अभिनय तथा सांस्कृतिक प्रतियोगितामा समेत सक्रिय सहभागिता जनाउँदै आएकी छन्।

    हालसम्म करिब एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ तथा अभिनय गरिसकेकी मञ्जलीले केही टेलिसिरियलमा समेत अभिनय गरेकी छन्। उनको अभिनय क्षमता देखेर विभिन्न निर्देशक तथा निर्माताले बाल कलाकारका रूपमा म्युजिक भिडियोमा अवसर दिँदै आएका छन्।

    अभिनयसँगै गायनतर्फ पनि रुचि बढेपछि मञ्जलीले ‘मामा भान्जी’ गीतमार्फत गायन यात्रा सुरु गरिन्। उक्त गीतमा उनले आफ्नै स्वर दिनुका साथै अभिनयसमेत गरेकी थिइन्। गीत तथा भिडियोले दर्शकको राम्रो प्रतिक्रिया पाएपछि उनलाई गायनमा थप उत्साहित बनाएको बताइन्छ।

    हालसम्म मञ्जलीले ‘गरिबको कानून’, ‘भ्रष्टलाई फाँसी’, ‘मेन्दो माया’, तीज गीत, ‘मामा भान्जी–२’ लगायत करिब एक दर्जन गीतमा स्वर दिइसकेकी छन्। उनका केही नयाँ गीतहरू समेत बजारमा आउने तयारीमा छन्।

    अभिनय र गायनसँगै मञ्जली पढाइमा पनि उत्तिकै सक्रिय रहेको बताइन्छ। उनी काठमाडौं कपनस्थित सरस्वतीनगरमा रहेको गोल्डेन पिक हाईस्कुलमा कक्षा ८ मा अध्ययनरत छिन्। विद्यालयका शिक्षक–शिक्षिकाका अनुसार मञ्जली अनुशासित तथा पढाइमा मेहनती विद्यार्थी हुन्। कलाकारितासँगै पढाइलाई पनि निरन्तरता दिनुपर्नेमा विद्यालय र परिवारले जोड दिँदै आएका छन्।

    मञ्जलीका अभिभावकले पनि उनको कलायात्रामा निरन्तर साथ र सहयोग गर्दै आएका छन्। विशेषगरी आमाले उनको नृत्य, अभिनय तथा गायनमा रुचिलाई प्रोत्साहन गर्दै प्रशिक्षण तथा अभ्यासमा सहयोग गर्दै आएको परिवारको भनाइ छ।

    मञ्जली काठमाडौंको सरस्वतीनगरमा जन्मिएकी हुन् भने उनको पुर्ख्यौली घर नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७, शिखरबेँसीमा रहेको छ। उनी आफ्ना आमा–बुवाकी एक्ली छोरी हुन्।

    यसैबीच, आगामी असोज ९ गते शुक्रबारदेखि मञ्जलीको आफ्नै ‘Manjali Laday Rapper’ युट्युब च्यानलमार्फत ‘दनदनि’ बोलको म्युजिक भिडियो सार्वजनिक हुने तयारीमा छ। उक्त गीतमा मञ्जलीकै स्वर र अभिनय देख्न सकिनेछ।

    बाल कलाकारका रूपमा उनले विभिन्न अवार्डसमेत हात पारिसकेकी छन्। एक्टिभ म्युजिक अवार्ड २०७९ अन्तर्गत बाल कलाकार विधामा प्रतिस्पर्धा गर्दै उनले अवार्ड जित्न सफल भएकी थिइन्। त्यसपछि पनि विभिन्न सम्मान तथा अवार्ड प्राप्त गर्दै आएकी मञ्जलीका एकपछि अर्को म्युजिक भिडियो सार्वजनिक भइरहेका छन्।

    मञ्जलीका अनुसार उनलाई नेपाली चलचित्रमा अभिनयका लागि समेत प्रस्ताव आएको छ। यद्यपि अहिले भने पढाइलाई प्राथमिकतामा राख्दै गीत–संगीत र अभिनयलाई पनि निरन्तरता दिने उनको योजना छ।

    सानै उमेरदेखि कला क्षेत्रमा पाइला चालेकी मञ्जलीले अभिनय र गायन दुवै क्षेत्रमा देखाएको सक्रियताले नेपाली मनोरञ्जन क्षेत्रमा उनको सम्भावनालाई थप उजागर गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to gorkhaonlinetv.com Site By :TriTech